सल्यान, माघ २६ । सल्यानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता रमेश मल्लले देश निर्माणका लागि सबैभन्दा पहिला पूर्वाधार विकास अपरिहार्य रहेको बताएका छन्।
सोमबार बिहान कपुरकोट गाउँपालिका–५, खालीमा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले सडक, विद्युत्, सञ्चारसँगै खानेपानी र सिँचाइ जस्ता पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। सल्यानमा पूर्वाधारका काम धेरै भए पनि अब ती कामलाई गुणस्तरीय बनाउने चरणमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि गुणस्तरीय बनाउने चुनौती रहेको स्वीकार गर्दै त्यसको समाधानका लागि आफू निरन्तर लागिरहेको बताए। “गाउँघरका अस्पताल र विद्यालयलाई कसरी गुणस्तरीय बनाउने भन्ने चुनौती छ, तर यसलाई समाधान गरेरै छाड्छौँ,” उनले भने।
मल्लले विगतमा अग्रज नेताहरूले देखाएको विकासको मार्ग र बनाएको जगमै टेकेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। “तपाईंहरूले विश्वासका साथ जिताएर पठाउनु भयो भने सल्यानका जनताको शिर झुक्ने काम म कहिल्यै गर्ने छैन,” उनले स्पष्ट पारे।
“म तपाईंहरूसँग हातेमालो गर्न, तपाईंहरूसँग सिक्न र तपाईंहरूको सेवा गर्न सधैँ तत्पर भएर लाग्नेछु,” मल्लले प्रतिबद्धता जनाए।
उनले कपुरकोट–कोइला हुँदै झ्याम–बाफुखोला जोड्ने सडकमा स्थानीय तहबाट गर्न सकिने काम स्थानीय सरकारले गर्ने र संघीय संसदबाट गर्नुपर्ने काम आफूले गर्ने बताए। जनताले चाहेजति विकासका काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
वर्षौँदेखि सल्यानी जनताले प्रतीक्षा गर्दै आएको राप्ती लोकमार्गको काम अहिले तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले यो समस्या पनि छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।
मल्लले चुनावमा नयाँको नाममा आएका गलत तत्वहरूलाई राम्रोसँग चिनेर मतदान गर्न आग्रह गरे। साथै विदेशमा रहेका नेपाली नागरिकलाई देशको राजनीति बुझ्न र सही–गलत छुट्याउन आग्रह गर्दै नेपाली कम्युनिस्ट पार्टी देशको स्वाधीनता, लोकतन्त्र र जनताको सुरक्षाका लागि निरन्तर संघर्षरत रहेको बताए।
नेपाली कम्युनिष्ट पार्टी सल्यानका अनुसार वडा नं. ३ कपुरकोट बजार, वडा नं. ४ किमुचौर, धनवाङ र गाँडापानीमा कार्यक्रम गरिएको छ भने आजै त्रिवेणी गाउँपालिका वडा नं. ४ फलाबाङ, वडा नं. ५ सल्लेखोला र सिम्क तथा वडा नं. ६ पोखरीमा भेटघाट कार्यक्रम गरिने बताइएको छ।








प्रतिक्रिया