सल्यान । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले राप्ती लोकमार्गको विस्तार तथा स्तरोन्नतिका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत अवलोकन गरेका छन्।
आज बिहान राप्ती लोकमार्गको दाङ-सल्यान सडकखण्ड अन्तर्गत हर्नेटी-राम्री खण्डमा भइरहेको कामबारे स्थलगत अवलोकन गरी जानकारी लिएका हुन्।
सो क्रममा हर्नेटी-राम्री सडकखण्डको विस्तार तथा स्तरोन्नतिको ठेक्का लिएको पिके निर्माण सेवाका तर्फबाट काम गरिरहेका इञ्जिनियर प्रेम भण्डारीले सडक निर्माणको काम द्रुत गतिमा भइरहेको बताए।
भण्डारीले गत जेठमा सम्झौता भएको र २०८२ जेठ ४ गतेसम्मको लागि समय सीमा रहेको भए पनि आफूहरुले ५/६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए।
सो अवसरमा प्रतिनिधि सभा सदस्य मल्लले सडक विस्तार र स्तरोन्नतिको काम द्रुत गतिमा बढाउन र गुणस्तरमा कुनै कमी हुन नदिन आग्रह गरे।
“कामको गुणस्तर, निर्माण क्षेत्रमा यात्रु र श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुहोस्। सडक निर्माण क्षेत्रमा धुलो उडिरहेकोले त्यसबाट यात्रु र श्रमिक दुवैको स्वास्थ्य र सुरक्षामा प्रतिकूल प्रभाव पर्ने भएकोले पानी चाहार्ने कामलाई बढाउनु होला।”
सल्यानको लाइफलाइनका रुपमा रहेको राप्ती लोकमार्गको डबल लेन विस्तार र स्तरोन्नतिका लागि आफूले निरन्तर खबरदारी गरिरहने मल्लले बताए।
यसैबीच राप्ती लोकमार्गको अलग अलग खण्डमा तीनवटा कम्पनीले सडक स्तरोन्नति, विस्तार र मर्मतका काम गरिरहेको सडक डिभिजन दाङका सूचना अधिकारी इञ्जिनियर अशोक चौधरीले जानकारी दिए।
चौधरीका अनुसार राप्ती लोकमार्गको विभिन्न तीन खण्डमा गरि ९ किमि सडकको डबल लेन विस्तार र स्तरोन्नतिका लागि ४० करोडमा पिके निर्माण सेवाले ठेक्का पाएको छ।
त्यस्तै राम्री-कपुरकोट खण्डमा आरडी उज्ज्वल लोकमणि जेभीले र बागचौर-खौला सडकखण्डको काम सुरत टक्सार जेभीले काम गरिरहेको सूचना अधिकारी चौधरीले बताए।









प्रतिक्रिया