समाचार

तारामा मतदानको आह्वान गर्दै रमेश मल्ल गाउँ गाउँमा



सल्यान, माघ २९ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले सल्यानको बागचौर नगरपालिकाका विभिन्न टोलबस्तीमा सञ्चालन गरिएको मतदाता भेटघाट तथा चुनावी अभियान उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

पिपलनेटा, कालाखेत, कोटवेत, ठिनबाङ लगायतका गाउँबस्तीमा आज आयोजित कार्यक्रमहरूमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ।

गाउँ गाउँमा आयोजित भेटघाट कार्यक्रमहरूमा मतदाताको उत्साह, जिज्ञासा र सक्रिय सहभागिताले चुनावी माहोललाई थप तातेको देखिन्छ। स्थानीय बासिन्दाहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणजस्ता विषयमा आफ्ना अपेक्षा र सुझाव खुलस्त रूपमा राखेको चुनावी अभियानमा हिडेका निर्वाचन परिचालन समिति सल्यानका संयोजक प्रकाश ज्वालाले बताए।

कार्यक्रममा सहभागी मतदाताहरूले देशको स्थायित्व, समृद्धि र जनमुखी नीतिका लागि नेपाली कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्दै यस पटकको निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्लले मतदातासँग संवाद गर्दै समृद्ध सल्यान निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले विगतमा भएका विकासका कामहरूलाई निरन्तरता दिँदै अधूरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

‘जनताको भरोसा र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो’ उम्मेदवार मल्लले भने, ‘बागचौरसहित समग्र सल्यानको सडक सञ्जाल विस्तार, कृषिमा आधुनिकीकरण, युवालाई स्वरोजगारका अवसर सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न म प्रतिबद्ध छु।’

उनले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने योजनासमेत प्रस्तुत गरे। साथै, जनताको सुझाव र सहकार्यका आधारमा पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता दोहोर्‍याउँदै उनले सबैलाई फागुन २१ गते तारा चुनाव चिन्हमा मतदानमार्फत् परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गरे।

कार्यक्रमहरूमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य प्रकाश ज्वाला, नेता भीम प्रकाश शर्मा सहित पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँबस्तीमा देखिएको जनलहर र समर्थनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा पार्टी पंक्ति आशावादी देखिएको छ।

प्रकाशित : २९ माघ २०८२, बिहिबार, ,