समाचार

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानहरु खुसी



सुर्खेत । लामो समयको खडेरीपछि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा भारी हिमपात भएको छ।

शुक्रबार रातिबाट सुरु भएको हिमपात शनिबार बिहानसम्म जारी थियो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। कर्णालीमा मंसिर दोस्रो सातापछि बल्ल हिमपात भएको हो।

हिमपातका कारण कर्णालीका सबै हिमाली जिल्लाहरुमा शनिबार सुर्खेत र नेपालगन्जबाट हुने सबै हवाइ उडान रद्द भएको नागरिक उड्ययन कार्यालयले जनाएको छ। हुम्लास्थित सिमकोट विमानस्थलमा झण्डै एक फिट हिउँ जमेको छ। हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी-नाग्म सडक र सिमकोट-हिल्सालगायत झण्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ।

हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको हुम्ला सिमकोटका मदन रोकायाले बताए। उनका अनुसार बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदलमार्ग बन्द भएका छन्। उनले झण्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झण्डै ३ फिट हिउॅ परेको छ बताए। उनका अनुसार शनिबार साँझसम्म हिमपात जारी छ।

हिमपातपछि हिमाली जिल्लाका बासिन्दाले ‘सुविकाल’को आश गरेका छन्। खडेरीका कारण अन्नबाली बिग्रन थालेको भन्दै चिन्तित बनेका किसानलाई शनिबारको हिमपात र वर्षाले राहत दिएको हो। हिउँ परेपछि खडेरीले सुक्न लागेका बालीमा राहत पुगेको किसानहरु बताउँछन्।

हिमपातका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ। रारामा झण्डै २ फिटसम्म हिउँ परेको छ भने हिमपातपछि राराताल वरपरका रुख हिउँले निहुँरिएका छन्।

हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बाग्लुङ सडकखण्डको आवागमन अवरुद्ध भएको छ। पातिहाल्ने र आसपासमा हिमपात भएकाले लोकमार्ग बन्द भएको छ। हिमपातकाकारण मुगुस्थित गमगढी-नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ भने हुम्लाको सिमकोट-हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। उनले हिमपात रोकिएपछि सिमकोट विमानस्थलको हिउँ हटाएर मात्र हवाइ सेवा सुचारु हुने जानकारी दिए।

प्रकाशित : १० माघ २०८२, शनिबार, ,