समाचार

बाबुरामको उम्मेदवारीः किन दिए, किन फिर्ता लिए?



गोरखा । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ मा गोरखा आइपुगे।

माघ ५ मा पत्रकार सम्मेलन गरेर भट्टराईले आफु उम्मेदवार बन्ने घोषणा पनि गरे। पार्टीका साथीहरु मात्र नभई अन्य पार्टी र मतदाताको सल्लाह सुझाव अनुसार नै उम्मेदवारी दिएको’ उनले पत्रकार सम्मेलनमा बताएका थिए।

माघ ६ गते उम्मेदवारी दर्तापछि गोरखा दरबार पुगेर गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण गरेर काठमाडौँ हानिएका थिए। फेसबुकमा गोरखकालीमा गोरखनाथको आशिर्वाद ग्रहण गरेको फोटो पोष्ट गरेर चुनावी अभियानमा रहेको सन्देश दिएका उनले किन सुटुक्कै उम्मेदवारी फिर्ता लिए भन्ने सबैका लागि बुझिनसक्नुको विषय बनेको छ।

उम्मेदवारी फिर्ता लिएको विषयमा फेसबुकबाट लाइभ गरेका भट्टराईले केहीबेरमै अनलाइनखबरलाई अन्तर्वार्ता नै दिएका छन्। अन्तर्वार्तामा भनिएका उनका तर्क पढ्दा रास्वपाले भावी राष्ट्रपतिको रुपमा आश्वासन दिएको सहजै बुझ्न सकिने विश्लेषकहरु बताउँछन्। अन्तर्वार्तामा ३/४ ठाउँमा रास्वपाका साथीहरुले लिखित/मौखिक रुपमा अभिभावक भइदिन आग्रह गरेको कुरा उनले भनेका छन्। रास्वपाको नजिक देखिएका भट्टराईले आफू देशकै अभिभावक बन्ने बताएको प्रसंगले उनलाई रास्वपाले भावी राष्ट्रपतिको कार्ड खेलेको बताइन्छ।

२०६४ र २०७४ को निर्वाचनमा गोरखा–२ बाट विजयी बनेका भट्टराईलाई आसन्न प्रतिनिधि सभा निर्वाचन सहज थिएन।
२०७९ मा माओवादी अध्यक्ष परचण्डलाई सघाउँदै उम्मेदवारी नदिएका भट्टराईले चुनावी राजनीतिबाट बिदा लिएको बताएका थिए।

यसपटक पनि पुस्तान्तरको एजेण्डा उठाउँदै आएका भट्टराईले आफू निर्वाचनमा सहभागी नहुने बताइरहेका थिए। तर, अन्तिम समयमा एक्कासी उम्मेदवारी दिएका उनको अडान ३ दिनभन्दा बढी टिक्न सकेन।

उम्मेदवारी फिर्तापछि फेसबुक लाइभमार्फत भट्टराईले निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

प्रकाशित : १० माघ २०८२, शनिबार, ,