काठमाडौँ, चैत २७ । प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्लले संसदमा प्रतिपक्ष भए पनि गणतान्त्रिक व्यवस्थाको निम्ति सत्ता पक्ष भएको बताएका छन्।
उपसभामुखको निर्वाचनका क्रममा आज संसद बैठकलाई सम्बोधन गर्दै मल्लले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको लागि सधैँ सत्ता पक्ष भएको बताएका हुन्।
मानव जातिको हितका लागि अघि सारिएका विचारहरु आयातीत नहुने भन्दै मल्लले भने, ‘आज केही प्रश्नहरु उठाइएका छन् तर मानव जातिको सर्वोत्तम हितका निम्ति अगाडि सारिएका विचारहरु कोही आयातीत हुँदैनन्।’
आफ्नो पार्टीले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गरेको संसदलाई जानकारी गराउँदै मल्लले उपसभामुखको निर्वाचन हेर्दा दुई जनाको प्रतिस्पर्धा जस्तो देखिए पनि कुन व्यवस्था र कुन विचारको पक्षमा उभिने भन्ने प्रश्न देखिएको बताए।
‘उपसभामुखको निर्वाचनमा आज यहाँ कुन व्यवस्थाको पक्षमा तिमी उभिन्छौ विचारका हिसाबले भन्ने प्रश्न खडा भएको छ,’ मल्लले भने, ‘त्यही लोकतन्त्र हो यो- जुन लोकतन्त्रले आज व्यवस्था मान्दिनँ भन्ने विचार राख्ने साथीहरुलाई पनि यो सदनमा उपस्थित गराएको छ। उहाँहरुका विचारलाई व्यक्त गर्ने वातावरण सिर्जना गरेको छ।’
उनले व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि र विचारमा भने आफूहरु सहमत हुन नसक्ने प्रष्ट पारे।
सरकारले लोकतन्त्रको सर्भिसिङ गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा अघि बढे आफूहरुको रचनात्मक समर्थन रहने भन्दै सांसद मल्लले लोकतन्त्रका मूल्य, भावना र संस्थाहरुमा अङ्कुश लगाउने कोसिस भए विरोध गर्ने बताए।
जेन-जी आन्दोलन लोकतन्त्रको सर्भिसिङ, राजनीतिक स्थायित्व र भ्रष्टाचारका विरुद्ध भएको उल्लेख गर्दै मल्लले आन्दोलनको मर्मअनुसार अगाडि बढ्न सरकारलाई आग्रह गरे। तर व्यवस्थामाथि प्रश्नचिन्ह खडा गर्ने र व्यवस्थाका विरुद्धमा व्यक्त हुने विचारलाई आफूहरुले कहिल्यै समर्थन नगर्ने उनले बताए।
हेर्नुस् भिडियो-
संसद बैठकमा रमेश मल्ल (वक्तव्यको पूरा पाठ)
सभामुख महोदय
एउटा संवैधानिक पद र यो सदनको एउटा जिम्मेवार भूमिकामा रहने उपसभामुख निर्वाचन प्रक्रियामा हाम्रो दलको (नेपाली कम्युनिष्ट पार्टी) धारणा स्पष्ट गर्नका निम्ति म यहाँ उभिएको छु।
सर्वप्रथम त यहाँ उभिदै गर्दा, पहिलो पटक म संसदमा उभिएर बोल्दैछु। र, मैले मलाई निर्वाचित गरेर पठाउने सल्यानी सम्पूर्ण बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुलाई सम्झन चाहन्छु। नमन गर्न चाहन्छु। निर्वाचनताका तपाईँहरुले हामीप्रति गरेका अपेक्षाहरु र हामीहरुप्रति तपाईँहरुले जुन भावना व्यक्त गर्नुभएको छ, त्यसलाई सम्झन चाहन्छु।
आज हामी जुन प्रक्रियामा प्रवेश गर्दैछौँ। जसरी हामी सम्माननीय सभामुख महोदयलाई यो सदनबाट सर्वसम्मत रुपमा निर्वाचित गर्न सक्यौँ, त्यसैगरी उपसभामुखमा पनि हामीले सर्वसम्मत रुपमा निर्वाचित गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो। त्यो हाम्रो दलको भावना थियो। हाम्रो दलको तर्फबाट हामीले त्यो विचार अघि सारेका थियौँ। तर यो सम्भव भएन। यसको सीमा कहाँनेर रहे, यसका बारेमा अगाडि केही माननीयहरुले विषय राख्नुभएको छ। केही प्रश्नहरु खडा भएका छन्। राजनीतिमा मूल्यका प्रश्नहरु उठेका छन्। यी विषयवस्तुहरुमा सम्भवतः सम्बन्धित माननीयहरुले आ-आफ्नो ठाउँमा गम्भीरतापूर्वक लिनु हुनेछ कि पक्कै पनि राजनीतिमा मूल्यको धेरै ठुलो महत्त्व निकै हुन्छ। इमानको धेरै ठुलो महत्त्व हुन्छ। यदि त्यहाँ कही हामीले कमी गरेका छौँ भने त्यसलाई यो सम्मानित सभामा मैले भन्न चाहन्छु।
सम्माननीय सभामुख महोदय, हामीले केही न केही नयाँ मानकहरु यो सदनबाट स्थापित गरेर जाने कोसिस गर्नै पर्दछ। त्यसको निम्ति हामीले समीक्षा गर्नु जरुरी छ भन्ने म ठान्दछु।
र हाम्रो दलको तर्फबाट हामीले श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्ताव गरिनुभएका एउटा मधेशीको छोरी, मधेशको माटोमा जन्मिनुभएको र अञ्जुलीभरि माटो बोकेर निर्वाचनमार्फत् यो सदनसम्म आइपुग्नुभएको नेपालको छोरी मधेशको छोरी, एउटा नवयुवा, जेन-जी समूहभित्रको, जसरी यो पछिल्लो जेनजी आन्दोलन लोकतन्त्रको सर्भिसिङको निम्ति भएको छ, त्यो आन्दोलनको प्रतिनिधिको रुपमा समेत आज एउटा जिम्मेवार पदमा जसरी उम्मेदवारको रुपमा यहाँ खडा हुनुभएको छ, हाम्रो दलको तर्फबाट उहाँलाई समर्थन गर्ने हाम्रो निर्णय म तपाईँहरुको बीचमा सुनाउन चाहन्छु।
म भन्न चाहन्छु, हामी संसदको प्रतिपक्षको बेन्चमा छौँ। पक्कै पनि हामीले भन्ने गरेका छौँ- सरकारले यदि पछिल्ला आन्दोलनका भावना अनुसार नै आफूलाई अगाडि लिएर बढ्यो र साँच्चै लोकतन्त्रको सर्भिसिङ गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने दिशामा आफूलाई खरो रुपमा उभ्याउँदै अगाडि बढ्यो भने हाम्रो तर्फबाट समर्थन रचनात्मक ढंगले रहनेछ।
यदि लोकतन्त्रका मूल्यहरुमा, लोकतन्त्रका भावनाहरुमा, लोकतान्त्रिक संस्थाहरु, राजनीतिक र नागरिक संस्थाहरुमा कतै अङ्कुश लगाउने कोशिस भयो भने त्यसबेला हामी दृढतापूर्वक त्यसका विरुद्धमा उभिनेछौँ। हामीले यो कुरा स्पष्ट गरिसकेका छौँ।
सरकारले अघि सारेका केही कार्यसूचीहरु छन्। हामीले हेरेका छौँ। केही नागरिक संस्थाहरुमाथि प्रश्नचिन्ह खडा गर्ने मात्र होइन, अंकुश लगाउने प्रकृतिका केही विषयहरु अगाडि आएका छन्, त्यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र सरकारलाई सचेत गराएका छौँ। यी कुराहरु पनि सम्माननीय सभामुख महोदय तपाई मार्फत् यो सभामा राख्न चाहन्छु।
यो कुरा पनि स्पष्ट पार्न चाहन्छौँ कि आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रभित्र छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रभित्र हामी व्यवस्थाको प्रतिपक्षमा छैनौँ, हामी व्यवस्थाको निम्ति सत्ता पक्षमा छौँ। र, आज केही प्रश्नहरु यहाँ उठाइएका छन्। केही विचारहरु यहाँ व्यक्त भएका छन्। मानव जातिको सर्वोत्तम हितका निम्ति अगाडि सारिएका विचारहरु कोही आयातीत हुँदैनन्। यो कुरा म स्पष्ट गर्न चाहन्छु।
सभामुख महोदय, आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति जे बलिदान आज यो मुलुकमा लोकतन्त्रको निम्ति, गणतन्त्रका निम्ति भएको छ, ती आदरणीय महान सहिदहरुलाई सम्मान गर्न चाहन्छु। सम्झिन चाहन्छु। उहाँका परिवारहरुलाई सम्मान गर्न चाहन्छु। बेपत्ता यौद्धाहरुलाई सम्झिन चाहन्छु। घाइते साथीहरुलाई सम्झिन चाहन्छु। र पछिल्लो जेनजी आन्दोलन – जो लोकतन्त्रको सर्भिसिङ र राजनीतिक स्थायित्व, व्येथिति र भ्रष्टाचारका विरुद्ध उठाइएको थियो, त्यो आन्दोलनको मर्मअनुसार हामी अगाडि बढ्न पर्दछ। त्यो आन्दोलनका सहिदहरुलाई सम्झिन चाहन्छु।
तर व्यवस्थामाथि प्रश्नचिन्ह खडा गर्ने र व्यवस्थाका विरुद्धमा व्यक्त हुने विचारलाई हामीले समर्थन गर्न सकिदैन। यो कुरा हामी स्पष्ट गर्न चाहन्छौँ। र आज दुइटा उम्मेदवारी एक प्रकारले दुई जना माननीयज्यूको उम्मेदवारी छन्, प्राविधिक हिसाबले दुई जना माननीय हुनुहुन्छ। तर वस्तुतः यो के देखिन्छ भने कुन व्यवस्थाको पक्षमा तिमी उभिन्छौ विचारका हिसाबले भन्ने प्रश्न खडा भएको छ। त्यही लोकतन्त्र हो, जुन लोकतन्त्रले आज व्यवस्था मान्दिनँ भन्ने विचार राख्ने साथीहरुलाई पनि यो सदनमा उपस्थित गराएको छ। उहाँहरुका विचारलाई व्यक्त गर्ने वातावरण सिर्जना गरेको छ।
यही लोकतन्त्र हो तर फेरि हामी के स्पष्ट गर्न चाहन्छु भने यो व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि र विचारमा हामी सहमत हुन सक्दैनौँ भन्ने मत राख्दै फेरि पनि श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका माननीय रुबिकुमारी ठाकुरलाई हाम्रो तर्फबाट उपसभामुख पदमा समर्थन भएको जानकारी गराउँदै र उहाँको निस्पष्क्ष भूमिकाको अपेक्षा गर्दै मेरो भनाइ टुङ्ग्याउँछु।









प्रतिक्रिया