समाचार

पूर्वी पडाड पाँचथरमा बाढी पहिरोः बगायो आधा दर्जन बढी पुल र घर



शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही घर बगाएको हो।

पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही घरहरु बगाएको हो।

बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरेबल पुल पनि बगाएको छ। पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहाँ सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको छ।

अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको छ।

वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन सकिरहेको छैन। जसकारण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी अनिषकुमार कर्णले बताए।

यस्तै याङवरक १,२ र ३ का विभिन्न खोला नालामा लगाइएका झोलुङ्गे र पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ। सडक माथिदेखि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध भएको छ।

साँझपख भएको वर्षापछि त्यस क्षेत्रमा बाढी आएको थियो।

प्रकाशित : ८ जेष्ठ २०८३, शनिबार, ,