केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगे। ट्रम्प फर्किएको ५ दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगे। पुटिन फर्किएको ३ दिनपछि यही मे २३ पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफ चीन भ्रमण जाँदैछन्।
विश्व राजनीतिमा यस्तो दृश्य नयाँ होइन। पछिल्ला केही वर्षदेखि चीन विश्व नेताहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। अमेरिकी राष्ट्रपति, रुसी राष्ट्रपति, युरोपेली नेतादेखि खाडी मुलुक, अफ्रिका र दक्षिण एसियाली राष्ट्रका प्रमुखसम्म सबैले चीनसँग सम्बन्ध मजबुत बनाउन खोजिरहेका छन्।
यसले एउटा ठूलो प्रश्न उठाएको छ- के विश्व शक्ति सन्तुलन पश्चिमबाट पूर्वतिर सर्दैछ? के चीन अब नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दैछ?
‘विश्व कारखाना’बाट ‘विश्व शक्ति’सम्म
कुनै समय सस्तो श्रम र उत्पादनको केन्द्र मानिने चीन अहिले विश्व अर्थतन्त्र, प्रविधि, व्यापार, कूटनीति र सैन्य शक्तिको मुख्य खेलाडी बनेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), विश्व बैंक र विभिन्न रणनीतिक अध्ययन संस्थाहरूका अनुसार चीन अहिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो। क्रयशक्ति समानताका आधारमा त उसले अमेरिकालाई उछिनेको दाबी धेरै विश्लेषकले गरिरहेका छन्।
चीनले केवल आर्थिक वृद्धिमा मात्र होइन, विश्व आपूर्ति श्रृंखला, दुर्लभ खनिज, हरित ऊर्जा, विद्युतीय सवारी, फाइभ–जी, कृत्रिम बौद्धिकता र पूर्वाधार लगानीमा समेत प्रभाव विस्तार गरिरहेको छ।
विशेषतः “बेल्ट एन्ड रोड इनिसियटिभ” (BRI) मार्फत चीनले एशिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकासम्म आफ्नो आर्थिक तथा रणनीतिक पहुँच विस्तार गरेको छ। पाकिस्तानको CPEC, अफ्रिकाका रेलमार्ग, दक्षिणपूर्व एशियाका बन्दरगाह तथा मध्यपूर्वका ऊर्जा परियोजनाहरू त्यसकै उदाहरण हुन्।
किन चीनतिर दौडिरहेका छन् विश्व नेता ?
विश्लेषकहरूका अनुसार यसको मुख्य कारण पाँचवटा छन् :
१. विश्व अर्थतन्त्रमा चीनको अपरिहार्य भूमिकाः आज कुनै पनि ठूलो अर्थतन्त्र चीनलाई बेवास्ता गरेर अघि बढ्न सक्दैन। अमेरिका र चीनबीच प्रतिस्पर्धा भए पनि दुवै देश आर्थिक रूपमा गहिरो रूपमा जोडिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो चीन भ्रमणलाई पनि धेरै विश्लेषकले ‘रणनीतिक प्रतिस्पर्धाबीच सम्बन्ध स्थिर राख्ने प्रयास’का रूपमा व्याख्या गरेका छन्। व्यापार, आपूर्ति श्रृंखला, प्रविधि, दुर्लभ खनिज र उत्पादन बजारका कारण चीनसँग सम्बन्ध राख्नु विश्व शक्तिराष्ट्रहरूको बाध्यता जस्तै बनेको छ।
२. अमेरिकासँग प्रतिस्पर्धा गर्ने वैकल्पिक शक्तिः रुस, इरान, उत्तर कोरिया लगायत पश्चिमी दबाबमा रहेका मुलुकहरू चीनलाई आफ्नो प्रमुख साझेदारका रूपमा हेर्छन्। रुसी राष्ट्रपति पुटिनको बेइजिङ भ्रमणले यही सन्देश दिएको देखिन्छ।
चीन–रुसले “बहुध्रुवीय विश्व व्यवस्था” निर्माण गर्ने कुरा दोहोर्याएका छन्। युक्रेन युद्धपछि पश्चिमबाट अलगिएको रुसका लागि चीन आर्थिक, कूटनीतिक र ऊर्जा साझेदार बनेको छ। अर्कोतर्फ चीनले पनि अमेरिकाविरुद्ध शक्ति सन्तुलनका लागि रुसलाई उपयोग गरिरहेको देखिन्छ।
३. चीनको ‘स्थिर शक्ति’ छविः पश्चिमी लोकतन्त्रहरूमा सरकार परिवर्तन भइरहँदा चीनमा दीर्घकालीन रणनीति निरन्तर लागू भइरहेको छ। सी जिनपिङले “दीर्घकालीन राष्ट्रिय पुनर्जागरण”को अवधारणा अघि सारेका छन्। उनले सन् २०४९ सम्म चीनलाई “आधुनिक समाजवादी महाशक्ति” बनाउने लक्ष्य सार्वजनिक गरिसकेका छन्।
विश्लेषकहरूका अनुसार धेरै विकासशील राष्ट्रहरु चीनलाई यस्तो शक्तिका रूपमा हेर्न थालेका छन्, जसले बिना राजनीतिक हस्तक्षेप लगानी, पूर्वाधार र ऋण उपलब्ध गराउँछ।
४. ‘ग्लोबल साउथ’ मा चीनको प्रभावः अफ्रिका, दक्षिण एशिया, ल्याटिन अमेरिका र मध्यपूर्वमा चीनको प्रभाव तीव्र रूपमा बढिरहेको छ। साउदी अरब–इरान सम्बन्ध सुधारमा चीनले मध्यस्थता गर्नु, अफ्रिकी देशहरूमा विशाल लगानी गर्नु तथा दक्षिण एशियामा पूर्वाधार परियोजनाहरू अघि बढाउनु उसका कूटनीतिक विस्तारका संकेत मानिन्छन्।
धेरै विकासशील देशहरू अब अमेरिका वा युरोपको सट्टा चीनलाई वैकल्पिक साझेदारका रूपमा हेर्न थालेका छन्।
५. शक्ति प्रदर्शनको प्रतीक बनेको बेइजिङः ट्रम्प र पुटिनलाई केही दिनको अन्तरमा बेइजिङमा भव्य स्वागत गरिएको दृश्यलाई धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले “चीनको शक्ति प्रदर्शन” भनेका छन्।
यसले एउटा सन्देश दिएको विश्लेषकहरूको भनाइ छ- आज विश्वका दुई प्रतिद्वन्द्वी ध्रुव अमेरिका र रुस दुवैलाई चीनसँग सम्बन्ध आवश्यक छ।
के हो ‘चीनको महान् कायाकल्प’?
सी जिनपिङले बारम्बार “Chinese Dream” र “Great Rejuvenation of the Chinese Nation” अर्थात् “चीनको महान् राष्ट्रिय पुनर्जागरण” को कुरा गर्छन्।
यसको अर्थ केवल आर्थिक समृद्धि होइन। यसको लक्ष्य चीनलाई आर्थिक, सामरिक तथा प्रविधिका हिसाबले विश्वको अग्रणी शक्ति बनाउने, प्रविधिमा आत्मनिर्भर बन्ने, ताइवानलाई चीनसँग एकीकरण गर्ने, पश्चिम केन्द्रित विश्व व्यवस्थालाई चुनौती दिदै बहुध्रुवीय विश्वव्यवस्था कायम उद्देश्यमा आधारित छ।
बहुध्रुवीय विश्वतर्फको यात्रा
अन्तर्राष्ट्रिय सम्बन्धका धेरै विद्वानहरू अहिलेको अवस्थालाई “Multipolar World” अर्थात् बहुध्रुवीय विश्वतर्फको संक्रमण भन्छन्। अमेरिका शक्तिशाली छ। तर चीन, भारत, युरोपेली संघ, रुस तथा क्षेत्रीय शक्तिहरू पनि निर्णायक बन्दै गएका छन्।
चीन यही नयाँ व्यवस्थाको केन्द्रमा आफूलाई स्थापित गर्न चाहिरहेको छ। त्यसैले विश्व नेता आज बेइजिङ पुगिरहेका छन्- केवल मित्रताका लागि होइन, भविष्यको शक्ति समीकरण बुझ्नका लागि पनि।









प्रतिक्रिया